
रविन्द्र तामाङ
अनुसन्धानकर्ता
बौद्ध धर्मालम्बी तामाङ जातिको संस्कृति अध्ययन गर्दा हरेक पूर्णिमाका दिन कुनै न कुनै चाड परेको देखिन्छ । थुप्रै चाडपर्वमध्ये तामाङहरुले परम्परागत रुपमा प्राचीन कालदेखि मनाउँदै आएको एउटा प्रमुख पर्व हो, तेमालजात्रा ।
चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूप र चैत्र पूर्णिमाका दिन बालजुको वाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने यस जात्राको नाम तिमालजात्रा रहनुमा तिमाल भेगका तामाङहरुको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहनु हो । तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिंगु खोला, सुनकोशी र रोसी खोलाको मध्यपहाडी एवं बेसी भागमा पर्छ जसलाई तामाङहरुले आफ्नो उदगम थलोको रुपमा स्विकार्दै आएका छन । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटान देखि नै तामाङहरु स्वयम्भू र बौद्धमा आउँछन ।
बन्धुमती नगरबाट आएका विपश्री बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अबलोकन गरि चैत्र पूर्णिमाका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरर्णाथ जात्रा मनाउन थालिएको मान्न सकिन्छ ।
यस जात्राको उत्पतिका सम्बन्धमा खोजी गर्दा ठोस प्रमाण र तर्कपूर्ण किवंतन्ती अझै पाउन सकिएको छैन । तर जेजति प्राप्त भएका छन त्यसका अनुसार यस जात्राको उत्पति काठमाडौं उपत्यका दहका रुपमा रहेका बेला बन्धुमती नगरवबाट आएका विपश्री बुद्धले जामाचो नागार्जुनको डाँडाबाट यस दहको अबलोकन गरि चैत्र पूर्णिमाका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्न सकिन्छ । पछि सोही फूलमा आश्विन शूल्कपूर्णिमाका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री बुद्ध, काश्यप बुद्ध लगायत अलौकिक बुद्धहरु र बोद्धधर्मलम्बीहरु देशदेशावरबाट आएको पाइन्छ । यसबाट जात्राको उत्पति स्वम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ । यति मात्र नभई तिमालजात्राको प्रारम्भ बौद्ध स्तूपबाट हुने हुँदा यसको उत्पति बौद्ध स्तूपको (ज्यारुङ खस्योर) निर्माणको पृष्ठिभूमिसंग पनि गाँसिएको प्रतिक हुन्छ ।
तिमालजात्रामा सहभागी हुन आउने तामाङहरुको चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपमा सवेरै देखि भीड लाग्छ । त्यहाँ उत्त दिन रातभर मृतकहरुको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ ।
यसरी बत्ती बाल्न आउने तामाङहरु टाढा टाढाबाट आउँदा सामुहिक रुपमा लामा पुरोहितका साथ रमाइलो गर्दै आउँछन भने नजिकबाट आउनेहरु चाहिँ परिवारसँग आउने गर्छन । जुन बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरि मानेहरु घुमाउँदै स्तूपको उत्तर तर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ । अनि लामा पुरोहितलाई मृतकका लागि पाठपुजा पनि गर्न लगाउँछन । यसरी तीर्थस्थलमा बत्ती बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अमिताभ लोक (स्वर्ग) मा पुग्छ भन्ने विश्वास तामाङहरु गर्छन ।
पितृ उद्धारको केन्द्रित सेरोफेरोमा रहेको यो २ दिने जात्राले तामाङ सँस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ ।
यसै दिन नजिकबाट आउने तामाङहरु आ आफ्नो घर फर्कन्छन, टाढाबाट आउनेहरु बौद्ध स्तूपकै पीठमा तामाङ सेलो आएर रात विताउँछन । यसको भोलिपल्ट अर्थात चैत्र पूर्णिमाको दिन सवेरै बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन । अनि स्वयम्भू स्तुप ज्योतिको दर्शन गर्छन । स्वयम्भूमा पनि बौद्ध स्तुपमा गरिएको प्रकृया अनुसारै स्वयम्भुमहाज्योति रहेको पीठको प्रदक्षिणा गर्दै सो धर्म र मृतकको मुक्तिका लागि लामा पुरोहितबाट पाठपूजा पनि गराउँछन र घर फर्कन्छन ।
तिमाल जात्रामा सहभागिहरु आउँदा पहिले पहिले तामाङहरु वर्षभरि कमाएको धन खर्च गर्थे । तामाङनीहरु बाटोघाटोमा सुनमा पाइन हाल्दै नाचगान गर्दै आउने जाने गर्थे र त्यस्तै अरनिको राजमार्ग बन्नु भन्दा अगाडि यो जात्रा भर्न तामाङहरु सल्लाको खोटो (म्हेदाङ) बाल्दै आउँथे भन्ने जनश्रुति पाइन्छ । मकवानपुर राज्यको अघिनस्थ रहेको तिमालका अन्तिम राजा रिन्जेन दोर्जेको पाला (वि.सं.१८१९) सम्म यो जात्रामा राजा स्वयम सहभागी भएको पाइन्छ । पितृ उद्धारको केन्द्रित सेरोफेरोमा रहेको यो २ दिने जात्राले तामाङ सँस्कृतिको गरिमालाई प्राचीन कालदेखि अहिलेसम्म निरन्तरता दिएको देखिन्छ । मञ्जुश्रीले नेपालको प्राचिन बौद्ध सभ्यताको जग बसालेको ठाउँमा हुने यो जात्राले उत्तिकै सामाजिक, धार्मिक र साँस्कृतिक महत्वका साथ निरन्तरता पाइराख्नुले तामाङ जाति काठमाडौं उपत्यका र यसका वरिपरिका भूभागका आदिवासीका रुपमा प्राचिनकाल देखिनै बसोबास गरिरहेका हुन भन्ने समेत प्रस्ट पार्छ ।