न्युयोर्क । कोरोना संक्रमणका कारण न्युयोर्कको अस्पतालमा भर्ना भएका न्युयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । सोमबारदेखि लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेकोमा आज घरमै आराम गर्नका लागि डिस्चार्ज गरिएको हो ।
‘कोरोना संक्रमण भएपछि धेरैजना आत्तिएर आफूलाई झन् कष्टमा पारेको पाइन्छ । तर आत्तिएर नभई संयम भएर उपचार गरेमा कोरोनासँग जुध्न सकिने रहेछ ।’ – श्रीमति नन्दु मोक्तानले भनिन् – ‘घर आइसकेपछि उहाँले चिकेन सुप पिउनुभयो । तातो चिया पिउनुभयो । कमजोर भएपनि स्वास्थ्यमा विस्तारै सुधार भएको छ ।’
सोमबार अस्पतालमा भर्ना भएका उनीमा बुधबार कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले स्वास्थ्यमा सुधार आएको तर अलिकति कमजोर अनुभव भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु दिइएको खसोखास डटकमले जनाएको छ ।
यसैबीच कोरोना संक्रमित मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आब्हान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।
उनले समुदायलाई सन्देश दिदै भने – ‘यदि तपाईमा लक्षण देखिएको छ भने अरुलाई संक्रमण हुन नदिन कृपया घरमै बस्नुहोला । यदि तपाईमा लक्षण देखिएको छैन भने पनि अरुबाट आफूमा संक्रमण हुन नदिन घरमै बस्नुहोला ।’
प्रचारमा आएजस्तो कोरोनाको कुनै पनि लक्षण आफूमा नदेखिएको उनले जानकारी दिए । आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिलेको उनको भनाई छ । उनले भने – ‘मलाई पाखुरा र टाउकोमा सोला हानेजस्तो भएको थियो । पहिले पनि यस्तो हुन्थ्यो । अनि पेनकिलर खाएपछि निको हुन्थ्यो ।’
‘तर यसपटक निको भएन । तीनचारघण्टापछि फेरी दुख्न थाल्थ्यो । यसरी एकसातासम्म पनि दुखेपछि निको हुनुको साटो झन् स्वास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा इमर्जेन्सी रुममा भर्ना भएँ । सबै टेस्टहरु गरेपछि कोरोना पनि टेस्ट गर्दा पोजेटिभ भएको रिपोर्ट आयो ।’ – उनले खसोखासलाई जानकारी दिए ।
न्युयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्युजिक भिडियो र चलचित्रहरु समेत खिचेका छन् । साभार: खसोखास