तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री ‘बहादुर सिं लामा’

.

याम्बु । तामाङ समुदायबाट पहिलो पटक बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । २०२७ साल कार्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरेका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता समेत रहेका लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका उनले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा अगाडि बढेका थिए ।

लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनी कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भए ।

०६४ सालमा नुवाकोट क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा पराजित भएका उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नेता पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका लामा शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन् ।

लामा बागमती प्रदेश संसदीय दलको चुनावमा इन्द्रबहादुर बानियाँलाई पराजित गरेर दलको नेता निर्वाचित भए । २६ चैत २०८० मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी छोटो समयमै मुख्यमन्त्री बनेर सरकारमा फर्किए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार