याम्बु । बागमती प्रदेश सभाको बुधबार बसेको बैठकमा प्रदेश सभा सदस्य ज्ञानबहादुर तामाङले आफ्नो मातृ (तामाङ) भाषामा मन्तव्य राखेका छन्।
उनले प्रदेश सरकारको कामकाजी भाषा ऐन, २०८० कार्यान्वयनमा आएपछि पहिलोपटक तामाङ भाषामा मन्तव्य राखेका हुन्।
बैठकमा बोल्दै तामाङले प्रदेश सरकारको कामकाजी भाषा ऐनको कार्यान्वयन भएकोले आफूले प्रदेश सभा बैठकमा तामाङ भाषामा बोलेको बताएका छन्। सांसद तामाङले अब प्रदेशमातहत र स्थानीय सरकारका संरचनामा भाषा अनुवादक नियुक्त गर्नुपर्ने बताए।
‘पहिचानसहितको संघीयतामा प्रदेश सभाबाट सर्वसम्मत पारित गरेको ऐन कार्यान्वयनमा सबै गम्भीर बन्नुपर्छ। अब बागमती प्रदेशका सबै सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गरेर साँच्चै ऐन कार्यान्वयन भएको अनुभूति दिनुपर्छ,’ सांसद तामाङले भने।
तामाङ र नेवार समुदायको बाहुल्य रहेको बागमती प्रदेशमा प्रदेश सरकारले गत वैशाख २४ गतेबाट सरकारी कामकाजी भाषाको रूपमा नेपालीसँगै तामाङ र नेपाल भाषालाई पनि मान्यता दिएको छ।
पहिलो चरणमा प्रदेशमातहतका सरकारी कार्यालय र स्थानीय तहमा कार्यालयका बोर्ड र लेटरहेडमा तीनवटै भाषाको प्रयोग थालिएको छ।