याम्बु । मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ ।
नगरप्रमुख आइतमान तामाङ र नेपाल तामाङ घेदुङ संघका संघिय सह–अध्यक्ष कुमार घिसिङ, मातृभाषा शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङ र हिरामान तामाङबीच यस विषयमा छलफल भएको हो ।
शिक्षा अभियान्ता प्रतीक ङेसुर तामाङले स्थानीय भाषा नीति, मातृभाषा शिक्षा, तामाङ विषय शिक्षा, शैक्षिक गुणस्तर एवम् भाषा र सिकाइको सम्बन्धका विषयमा आफ्नो भनाई राख्नु भएको थियो ।
नगरप्रमुख तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङघीय कानुन र बहुभाषिकताको मर्म अनुसार नै तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम र बजेट नगर अधिवेशनबाट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
साथै उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।