चरिकोट । विगु गाउँपालिकामा दुई दिने ‘आमा समूहका लागि क्षमता अभिवृद्धि तथा अन्तर्कृया कार्यक्रम’ भएको छ । गाउँपालिका उपाध्यक्षसँग (देविका थामी) महिला तथा किसोर किसोरी लक्षित कार्यक्रम अन्तर्गत आमा समूहलाई क्षमता अभिवृद्धि (असार १३ र १४) कार्यक्रम गरीएको हो ।
कार्यक्रममा आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की प्रशिक्षक रहेकी थिइन । उनले समाज रुपान्तरण, सुदृढिकरण र विकासका लागि आमाहरुको भूमिका मुख्य रहेको बताईन । आमा नै संसारको सृष्टिकर्ता भएकाले सामाजिक रुपान्तरणका लागि नेतृत्वदायी भूमिकामा आउनु पर्ने धारणा राखिन ।
ग्रामीण विकास, स्थानिय तहमा उपभोक्ता समितिको नेतृत्व, महिला हिंसामाथि निडर ढंगले वकालत गर्न सक्ने क्षमताको विकास आमा समूहमा विस्तार हुनु पर्ने प्रशिक्षक कार्कीको भनाई थियो ।
विगु गाउँपालिकाको साङबा र सिंगटिमा भएको कार्यक्रममा प्रशिक्षक कार्कीले महिलाहरुलाई सक्षम नेतृत्वका लागि विषयगत ज्ञान, सिप, क्षमताको विकास गर्न पालिकाले सहयोग गर्नु पर्ने धारणा राखिन् ।
साथै,स्थानीय तहको नेतृत्वका लागि तालिम गोष्ठिले बोल्ने कला, नेतामा हुनु पर्ने खुबीको विकास गर्ने कार्कीले बताइन ।
सिगटीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष संञ्जिव ओलीले महिला नेतृत्व र विकासका लागि धेरै कार्यक्रम आवश्यक भएको औल्याए । आमा समूहलाई उद्यमशिलतासँग जोडेर कार्यक्रम ल्याउन आफू प्रतिबद्ध रहेको बताए ।
‘गाउँपालिकाले जसरी कार्यक्रम ल्याउनु पर्ने थियो । त्यसमा कमि कम्जोरी भयो होला । तर आगामि वर्ष केही नयाँ ढंगले महिलासँग जोडेर कार्यक्रम ल्याउन प्रयास गर्ने छु,’ अध्यक्ष ओलीको भनाई थियो ।
विगु गाउँपालिका उपाध्यक्ष देविका थामीले चालु आर्थिक वर्षमा महिला बालबालिका, किसोर किसोरी तथा आमा समूहसँग करिव ८० लाखको कार्यक्रम गरीएको बताइन । महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, सिप मूलक, आत्मानिर्भर हुने विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गरिएको उपाध्यक्ष थामीले जानकारी दिइन ।
विगतमा महिलासँग जोडिएको कुनै पनि कार्यक्रम नभएकाले आफू निर्वाचित भएपछि महिला लक्षित कार्यक्रम ल्याएको उनले बताईन ।
‘महिलाको समस्या महिलालाई नै बढि थाहा हुन्छ । आफू किसोरी हुँदा भोगेको पिडा, आमा हुँदा लिएको अनुभव महिलालाई मात्र थाहा हुन्छ,’ उपाध्यक्ष थामीले भनिन्,‘यसकारण महिलाको विषयलाई विषयगत रुपमा उठाउनु पर्छ । महिलाको अधिकार संविधानमा छ भने स्थानीय तहले किन कार्यन्वयन नगर्ने । यसैगरी आगामी आर्थीक वर्षमा नयाँ ढंगले महिलासँग जोडिएको कार्यक्रम आउने छ ।’
यस्तै, कार्यपालिका सदस्य गोमा केसीले विगु गाउँपालिकाको महिलाहरुको समस्या, चुनौती केलाउँदै क्षमता अभिवृद्धिका लागि गुरु योजनासहित अघि बढ्ने बताईन । महिला, विद्यार्थी, आमा समूहका लागि विभिन्न क्षमता अभिवृद्धि तालिम गरिएको र धेरैले अवसरसमेत पाएको सदस्य केसीको धारणा थियो ।
दुई दिन भएको कार्यक्रममा १३२ वटा आमा समूहको प्रतिनिधि सहभागी भएका थिए । उपाध्यक्षसँग महिला कार्यक्रमले धेरै आमा समूहको क्षमता अभिवृद्धि भएको सहभागीले बताए । सहभागीले आगामी वर्ष पनि महिलामैत्री, महिला उद्यमी, महिला आत्मानिर्भर कार्यक्रम समावेश गर्न सुझाव समेत दिएका थिए ।