
- अर्जुन पाख्रिन तामाङ
युवा अवस्थामा सामाजिक चेतनाको गीत गाएर पहिचान बनाएका विकास छ्युमी लामाको जीवनमा थुप्रै आरोह अवरोह आए । उनको बाल्यकाल, विद्यार्थी जीवन, युवा उमेरको तेज, गीतसंगीतको लहर मात्रै उनको जीवनले अनुभव गरेनन्, राजनीतिक उत्तर चढावको पहाडहरु पनि संघर्षकै दौरानमा छिचोले ।
यही क्रममा सफलता र केही अवसरहरुको मौका नपाएको होइन । यद्यपी विकास लामा रानैतिक क्षेत्रमा उदाए ।
विकास दाईसँग मानकाजि पाख्रिन तामाङले भेट गराइदिनु भएको हो । यसपछि उहाँसँगको संवाद जति भयो, स्मरणीय रह्यो । उहाँसँग थुप्रै बसाईहरु बसेँ । थुप्रै योजनाहरु बनायौं । केही पुरा भए केही अधुरै रह्यो । उहाँ सबैको प्रिय पात्र ।
बसाईको क्रममा युवा पुस्ताको ‘तिखर’ जोसिला विषयले निकै ठाउँ लिन्थ्यो । उर्जा र उत्साहले भरिएका विषयले थप न्यानोपन बढ्ने नै भयो ।
‘होइ साईली, होइ माईली’ उहाँको चर्चीत गीत । यो गीतको प्रसंग निकै चल्थ्यो ।
एक महिनाअघि हो । छ्युयी वंश प्रतिष्ठानको वनभोज कार्यक्रम आसपास संवाद भएको थियो । ‘भाई, मेरो पोखराको प्रोजेक्ट हेर्न जानुपर्छ है । हामी नभेटेको धेरे भयो । छिटै भेटघाट गरौं ।’ तर, आवाजमा दम थिएन, मलिन र प्रिय थियो ।
त्यही अन्तिम संवाद हुन्छ भन्ने थिएन ।
लामाको राजनीतिक यात्रा:
वि.सं. २०१६ साल असोज २१ गते इन्द्रावती गाउँपालिका ९ भोटसिपा जन्मिएका विकास छ्युमीले विद्यार्थी हुँदा नै राजनीतिमा आफूलाई उभ्याएका हुन् । उनी शसक्त र प्रखर वक्ता हुन् । स्पष्ट बोल्ने भएकै कारण उनमा कुनै छद्मभेषी रुप देखिएन ।
यही राजनैतिक रंगका कारण नेपाली काँग्रेसको १३औं जिल्ला अधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाको सभापतिमा निर्वाचित भए । २०७० सालको प्रतिनिधि सभाको निर्वाचन सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट कांग्रेसबाट उम्मेदवार बने ।
चियापानमा भन्नु हुन्थ्यो ‘राजनीतिमा थुप्रै घुम्तिहरु पार गर्नुपर्छ । म त्यही दौरानमा छु । राजनीतिमा थाक्नु हुँदैन । यो एउटा प्रक्रिया हो । यसकारण १४ औं महाधिवेशनमा केन्द्रिय सह महामन्त्रीका उम्मेदवार हुने अवसर पाए ।’
उनले २०७९ को स्थानीय निर्वाचनमा इन्द्रावती गाउँपालिकाबाट अध्यक्षका प्रत्यासी समेत थिए।
कलाकारिता यात्रा:
नेपाली आधुनिक गीत ‘स्वर्ग कि परी’ बाट गायन क्षेत्रमा डेब्यु गरेका लामा कलाकारितामा सोनाम लामाका नामले चर्चित थिए।
‘होइ साइली, माइली, ह्याङ निला, चु दुःख डान्सी खाईरी ब्याङनिला’ र ‘आपाम बोर्जी, दैवसे’ जस्ता उनले गाएका गीत तामाङ समुदायमा सदाबहार लोकप्रिय छ।
२०३७ सालमा रेडियो नेपालबाट आधुनिक गीतको स्वर परीक्षा उतीर्ण गरी नेपाली गीतसंगीत यात्रा थालेका उनले १५८ वटा गीत गाएका छन् । लामाले तामाङ फिल्म ‘डाङ’ पनि निर्माण गरेका छन्।
छ्युमी वंश प्रतिष्ठानका संस्थापक
उनी छ्युमी वंश प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत हुन् । जस्ले तामाङ थरभित्रको छ्युमी वंशियारलाई एकताबद्ध गराउने अभियान सञ्चालन गर्नु उहाँको अर्को ऐतिहासिक पाटो छ । छ्युमी थर भएका तामाङ समुदायलाई एकताबद्ध गर्नकै लागि उहाँको नेतृत्वमा छ्युमी प्रतिष्ठान स्थापना गरिएको छ । छ्युमी वंशका लागि अर्को इतिहास पनि हो ।
क्यान्सर पीडित……
विकास लामा, लामो समयदेखि क्यान्सर पीडित हुन् । उनी उपचारका लागि कयौं पटक जापान र थाइल्याण्ड पुगेका थिए । केही मेहीनाअघि मात्रै थाइल्यान्ड स्वास्थ्य उपचार गरेर फर्किएका थिए । तर, समयले पर्खिएन । र, ६३ वर्षकै उमेरमा सबैको प्रिय मान्छे, सदा र सधैका लागि विदा भए । हामी सम्झि रहने छौं–विकास दाई । ‘हाद्र्धिक श्रद्धासुमन विकास दाई’।