शैलुङको ज्याङ्छयुब छयोर्तेन स्तुपा भव्य समारोहबीच उद्घाटन हुने

.

याम्बु । दोलखा र रामेछापको संगमस्थल शैलुङ डाँडामा निर्माण गरिएको शैलुङ ज्याङ्छयुब छयोर्तेन (बोधि चैत्य) को भव्य समारोहबीच प्राणप्रतिष्ठानसहित उद्घाटन हुने भएको छ । लामा गुरुद्धारा धार्मिक विधि अुनसार फागुन १६ र १७ गते पूजापाठपछि उद्घाटन हुने भएको हो ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा २०७३ शैलुङ डाँडा (३१४५ मि) मा निर्माण सुरु गरिएको छ्योर्तेन करिब ७ वर्षपछि सम्पन्न भएको हो ।

छ्योर्तेनको धार्मिक अनुष्ठानसहित शुद्धीकरण शुप्राण प्रतिष्ठा (राब्ने) एवं वाङ (आयु अभिषेक) तथा उद्घाटन कार्यक्रमको तयारी पूरा भएको गोन्पो समाजले जनाएको छ।

छयोर्तेन उद्घाटन प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछेद्वारा धार्मिक अनुष्ठानसहित शुद्धीकरण सुप्राण प्रतिष्ठा गरिनेछ ।

टुल्कु लोसाङ नाम्ग्याल रिम्पोर्छेले वि.सं २०७० सालमा शैलुङ भ्रमण गरेपछि गरिएको परिकल्पनाअनुसार विस २०७२ साल चैत्र २० गते (सालाङ) सिलान्यस गरी निर्माण सुरु गरिएको समाजका अध्यक्ष शेरप शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेरपका अनुसार छ्योर्तेनका लागि सबैतिरबाट आर्थिक, भौतिक, नैतिक सबै प्रकारको सहयोग प्राप्त भएको बताए । उनले भने,‘यो महान् पुण्य कार्य गर्ने दुर्लभ अवसर हामीले प्राप्त गरेका छौँ । ’

‘छ्योर्तेनको निर्माण सबै तरतवरबाट सम्पन्न भएको छ’, समाजका महासचिव कुमार थोकरले भने,‘अब यसको उद्घाटन मात्र बाँकी थियो, त्यो अब यही फागुन १६ र १७ गते गर्ने भएको छ ।यसमा हामी लागि परेको छ, यो काम सकेपछि समाजले गरेको पहिलो ठुलो कार्य पूरा हुनेछ ।’

बोधि चैत्य निर्माणको लागि दोरम्बा–शैलुङ गाउँपालिका रामेछाप, दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, जनप्रतिनिधिहरू, लोपेन सोनाम लामा लगायत देशभरका विभिन्न सहयोगी हातहरूले गरेको दानबाट निर्माण सम्पन्न गर्न सफल भएको कोषाध्यक्ष डम्बर मोक्तानले जानकारी दिए ।

छयोर्तेन निर्माणमा करिब ३ करोड ३० लाख लागत पुगेको कोषाध्यक्ष मोक्तानले बताए ।

छ्योर्तेनका लागि शोकसिङ (मेरुदण्ड) शैलुङ गाउँपालिका वडा नं ४ स्थित तायाम्राङ च्यातका पेमादोर्जे लामाले दान गरेका हुन् । लामाका अनुसार शोकसिङको बिरुवा साठी सत्तरी वर्षअघि सिन्धुपाल्चोकस्थित लिसंखुबाट सानो बिरुवा ल्याएर रोपिएको बताए ।

उनले भने,‘करिब ७० वर्षअघि सानो धुपीको बिरुवा रोपिएको थियो, त्यही बिरुवाको रुखले आज शोकसिङको रूपमा छ्योर्तेनमा राख्न पाउँदा ठुलो सौभाग्य ठानेको छु । छ्योर्तेनमा दान गर्न पाउँदा अति खुसी लागेको छ ।’

शोकसिङ विधिपूर्वक काटेर यसको दिशाअनुसार नै छ्योर्तेनमा राखिएको समाजका सदस्य एवं ताम्बा सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तानले जानकारी दिए ।

#Sailung_jhyangchhup_Stupa #Yambunews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार