दोलखामा हरिसिद्धि भवानीदेवीको नाच हुने: खासमा के हो ’हरिसिद्धि नाच’

.

चरिकोट । प्राचिन शहर दोलखामा हरिसिद्धी भवानीदेवीको नाच चार दिन हुने भएको छ ।

ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको त्रिशक्त्ति भवानी हरिसिद्धिको १२ वर्षे मेलाको अवसरमा दोलखामा चैत्र २१ देखि २४ गतेसम्म उक्त नाच हुने भएको हो ।

उक्त मेलाको लागी ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भीमेश्वर नगरपालिकाका मेयर भरत केसीबीच सम्झौता भइसकेको छ ।
दोलखा र ललितपुरबीचको साँस्कृतिक सम्बन्धलाई यस मेलाले पुनजीवन दिने स्थानीयको अपेक्षा छ । साथै, दोलखामा रहेका साँस्कृतिक सम्पदा र संस्कृतिलाई समेत हरिसिद्धी नाचले प्रवद्र्धन गर्ने जनाएको छ ।

सो हरिसिद्धि नाचलाई भव्य र सभ्य ढंगले समापन गर्नका लागी स्थानीय शान्तकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, प्रविन प्रधान, उपेन्द्र प्रधान, शान्त श्रेष्ठले समन्वय गरिएको छ ।

हरिसिद्धि नाच के हो  

नेपालको इतिहासमा १२ वर्षे हरिसिद्धि नाच सबैभन्दा पुरानो नाचको रुपमा हेरिन्छ ।

प्रत्येक १२ वर्षमा देवीदेवताका शक्ति नाश हुने भएकाले उनीहरुको शक्ति सञ्चित गर्नका लागि १२ वर्षमा पूजाअर्चना गर्दै यो नाच देखाउने प्रचलन छ ।

यो नाचका अवसरमा कुनै देवीदेवताको पूजा नगरी चारवटा कलशको पूजा गर्ने गरिन्छ । हरिसिद्धि मन्दिरमा देवीदेवताको मूर्तिको सट्टा कलशहरुको स्थापना गरिएको छ । तीमध्ये लहरै एक अर्कोसित जोडिएको तीनवटा कलश पश्चिम फर्केका छन् ।

ती भैरव, मूलदेवी र कुमारीको कलश मानिन्छ । यही तीन कलशलाई हरसिद्धि भवानी मानिन्छ । अर्को एक कलशलाई भने गणेशका रुपमा पूजा गर्ने गरिएको छ ।

हरिसिद्धि नाचको इतिहासका बारेमा अनुसन्धान गरी पुस्तकसमेत लेख्नुभएका लेखक सकलबहादुर महर्जनका अनुसार वि.सं. का प्रवर्तक राजा विक्रमादित्यले भारतका राजाहरुलाई पराजित गरी करिब दुई हजार वर्ष पूर्व नेपालमा हरसिद्धि भवानीको स्थापना गरेका थिए ।
सुरुमा काठमाडौँको वानेश्वरमा हरसिद्धिको स्थापना भए पनि त्यहाँ सो नाचले स्थान पाउन नसकेपछि हालको स्थान अर्थात् हरिसिद्धिमा सारिएको थियो ।

यस स्थानमा पनि पुनः लोप भएपछि यो नाचलाई राजा अमरमल्लले पाटनका प्रख्यात तान्त्रिक श्री गयो जुजु बाजेद्धारा फुल्चोकीबाट साधनामार्फत सोही स्थानमा हरसिद्धि भवानीलाई विराजमान गराई पुनः नाच चलाएको किवदन्ती छ ।

सोही भवानी देवीको नामबाट नै सो स्थानको नाम हरिसिद्धि रहन गएको स्थानीयवासी बताउँछन् । सो नाच सञ्चालनका लागि मन्दिरमा २९ जना पुजारी रहेका छन् । जसमध्ये १० जना व्यवस्थापक र १९ जना देवगण छन् । उनीहरु नाचलगायत मन्दिरको सम्पूर्ण कार्य गर्ने गर्छन् ।

तीमध्ये कुनै पुजारीको मृत्यु वा बिरामी भएमा त्यही समयमा फेर्न नमिल्ने त्यसका लागि अर्कों १२ वर्षभित्र नै पर्खनुपर्ने व्यवस्था रहेको छ ।
सो अवसरमा देखाइने नाचले सत्य तथा द्वापरयुगको प्रतिनिधित्व गरेको छ । यसमा गणेशले आफ्ना श्रीमती रिद्धि र सिद्धिलाई गरेको माया तथा स्नेहलाई समेत नृत्यमार्फत प्रस्तुत गरिन्छ । त्यस्तै रामायणकालमा रामले सुग्रिवसँग गरेको युद्ध, ताडका नामक राक्षस्नीले आफ्ना छोराहरु मारिच र सुबाहुलाई तालिम दिँदै गरेको दृश्यहरुलाई नृत्यमार्फत देखाइने गरिन्छ ।

हरसिद्धि भवानीलाई पञ्चबली अर्थात् राँगा, बाख्रालगायतका पाँचवटा जनावरको बली दिएपछि सो नाचको समापन हुने संस्कृति छ ।
सो नाचका अवसरमा हरिसिद्धिका सम्पुर्ण स्थानीयवासीबीच भएका रिसराग पनि समाप्त हुने एकआपसमा सद्भाव बढ्ने कारणले यो नाच छुट्टै महत्व भएको जनविश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार