गौरीशंकर हिमालको चुचुरोलाई आधार मानेर नेपालको समय निर्धारण हुन्छ । यही चुचुरोलाई स्पर्श गर्दै हुने सूर्योदयबाट भीमेश्वर नगरपालिकामा उज्यालो छरिन्छ ।
भीमेश्वरलाई आफ्नो काखमा राखेर न्योनो माया खन्याएको गौरीशकर हिमालको दिव्यता र सुन्दरतासँग यस नगरको प्रत्यक्ष सम्बन्ध छ ।
रोल्वालिङ हिमश्रृखलाका अनौठा र अदभुत दृश्यहरु यहीबाट नजिक पाउन सकिन्छ ।
कालिञ्चोक भगवतीलाई शिरमा राखेर बसेको दोलखा जिल्लाको सदरमुकाम भीमेश्वर नगरपालिका नेपालको इतिहास, वर्तमान, भविष्यलाई समेत प्रभावित पार्न सक्ने अनुपम नगरपालिका हो ।
आफ्नो मुर्तिबाट पसिना निकालेर देशको दशा र दिशाको सूचना दिने साक्षात् देवता भीमेश्वर महादेवको प्रसिद्ध मन्दिर यही छ । देशको हातमा पहिला पटक सिक्का राखिदिने ऐतिहासिक राज्य अभयपुर पनि यही हो । देशलाई जलविद्युत, व्यापार, पर्यटन र समृद्धिको नयाँ युगमा डोर्याउन तम्तयार तामाकोशी यहीबाट सुसेली हालिरहेको छ ।
नेपालको राजधानी काठमाडौंबाट पूर्वतर्फ अरनिको राजमार्ग हुँदै खाडीचौरबाट पुष्पलाल मार्ग समातेर १३२ किलोमिटरको यात्रा गरेपछि यो नगरको केन्द्र आइपुगिन्छ ।
सुन्दर गाउँ र खेतबारीको यो नगरको माझबाट नागबेली पर्दै उकालिएको सडकको घुम्तीहरु पार गरेपछि भेटिने लाकुरीडाँडाको आहालडाँडा यस नगरको प्रवेशबिन्दु हो ।
जहाँ पर्यटकीय सूचना केन्द्र सहितको कलात्मक दोलखा प्रवेशद्धार निर्माण सम्पन्न हुने चरणमा छ । यहाँबाट अघि बढेपछि दक्षिण एसियाको सबैभन्दा ठूलो म्याग्नेसाइट खानी खरिढुङ्गासँग साक्षत्कार हुन्छ ।
खरिढुङ्गाको पृष्ठभूमिमा रोल्वालिङ र लाङटाङ हिमश्रृङ्खलाको मनोरम दृश्य देखिन्छ । २७२० मिटर उँचाइको खरिढुङ्गा क्षेत्रमा शिशिर यामभरि हिमपात हुन्छ । हिउँ निख्रिए पश्चात जंगलभरि फुलेको लालीगुराँसले मनै रङ्गीन बनाउँछ ।
खरिढुङ्गादेखि उत्तरतिर लामोसाँघु जिरी सडकबाट अघि बढ्दै जाँदा अन्तर्राष्ट्रिय चलचित्र नगरी प्रवशेमार्ग भेटिन्छ । यहाँबाट ६.५ किलोमिटर उकालिँदा अन्तर्राष्ट्रिय चलचित्र नगरी क्षेत्रको मैदानमाथि पाइला पर्छ । नगरको मुख्यालयतिर नजिकै जाँदा हात्तीछहरा र चरनावतीको झरनाले स्वागत गरिरहेको हुन्छ । गोपीखोला, तामाकोसी र चरनावतीको संगम त्रिवेणीधाम काशीको शिर मानिन्छ ।
१३२.५ वर्ग किलोमिटर क्षेत्रभित्र ९ वटा वडामा विभाजित भीमेश्वर नगरपालिका न्युन्तम ८४० मिटरको उष्णतादेखि उच्चतम ३५४९ मिटरको गणेशथुम्की उच्च लेकसम्म समेटिएको छ । जैविक विविधतायुक्त मौसमी स्पर्श यस नगरको वातावरणीय सम्पत्ति हो ।
हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोट भीमेश्वर नगरको मुख्यालय हो । यसको उत्तरतिर कालिञ्चोक पानीढलोबाट शुरु भएको धार्मिक महत्वको सुन्द्रावती खोला दोल्तीसम्मका खेतबारी सिँचन गर्दै तामाकोसीमा विलीन हुन्छ ।
तामाकोसी असला माछाको भण्डार हो भने दोल्तीको दोभान नागदह लहलह धान झूल्ने उर्वर फाँट हो । तामाकोसी नदीमा ¥याफ्टिङको मजा पनि लिन सकिन्छ ।
ऐतिहासिक मञ्जुश्री डाँडामा अवस्थित मूर्तिको शिलालेखका आधारमा मञ्जुश्रीको नेपाल आगमनको पहिलो इतिहास दोलखा शहरबाट कोरिन्छ ।
सातौ शताब्दीमा तिब्बत र भारतबिचको व्यापार तामाकोसी किनारैकिनार हुन्थ्यो । तामाकोसीसँग जोडिएको प्राचीन दोलखा राज्य लिच्छवि कालमा कुथेर अर्थात कर उठाउने अड्डा थियो । प्राकृतिक सौन्दर्य, जातीय विविधता, कर्मठ जीवनशैली तथा समृद्ध धार्मिक साँस्कृतिक सम्पदाको संगमस्थल यो नगरपालिका आज शिक्षा, स्वास्थ्य, व्यापार व्यवसाय सञ्चार सुविधालगायत विकासका प्रत्येक आयाममा तीव्र गतिका साथ अघि बढ्दै गएको छ ।
२०५३ सालमा भीमेश्वर महादेवको नामबाट नगरपालिका घोषणा गरिएको दोलखा नगर लिच्छवी मल्ल र शाहकालीन सम्पदा एवम् कलाकौशलको कोशेढुंगा पनि हो । कलात्मक शिल्पकलाले जीवन्त ढुंगा र ईटाको प्राचीन सम्पदाहरुयस नगरका गहना हुन् । ढुंगाका मुर्तिहरु र घरहरुले भरिएको यस नगरलाई ढुंगाको शहर पनि भन्ने गरिन्छ ।
प्राचीन इतिहासमा अभयपुरको नामबाट परिचित दोलखा बजारस्थित भीमेश्वर मन्दिर परिसरमा ठड्याइएको भीमकाय ढुंगाको स्तम्भ कहिले कहाँबाट ल्याइयो र कसरी ठड्याइयो भन्ने प्रश्नको उत्तर आजसम्म कसैसँग छैन ।
कुनै बेला सम्पन्न, सशक्त र स्वतन्त्र राज्य दोलखाका राजा जयइन्द्रसिंह देवले सोहौं शताब्दीमा टक अर्थात मोहर प्रचलनमा ल्याएका थिए । यो नेपालको इतिहासमै पहिलोपटक चलनचल्तीमा ल्याइएको पैसा थियो । त्यसबेलाको टक प्रकाशन गर्ने टक्सार घर दोलखा बजारमा आज पनि अवलोकन गर्न सकिन्छ ।
आफ्नो मुर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने देवताको रुपमा प्रसिद्ध भीमेश्वर महादेवको उत्पतिको रोचक प्रसंग छ ।
परापूर्वकालमा एकजना भरियाले खाना पकाउने चूल्होमा प्रयोग गरेका तीनवटा ढुंगामध्ये एउटा ढुंगातिरको भात काँचै रहेको देखेर रिसले पन्यूँले हिर्काउँदा ढुंगाबाट रगत र दूध बग्न थालेपछि देवता रहेछन् भनी भीमेश्वरका रुपमा मन्दिर बनाएर पुज्न थालिएको किंवदन्ति छ । अहिले उनै देवता त्यही शिलाबाट पसिना निकालेर देशलाई ठुलो घटनाको पूर्वसूचना दिने गर्छन ।
विभिन्न चाडपर्वमा जात्रा लागिरहने भीमेश्वर, काली मन्दिर, त्रिपुरासुन्दरी, चम्पुजापार्क, टक्सार घर हुँदै दोलखा शहर एक फन्को लगाउँदा ऐतिहासिक रहनसहन, संस्कार, संस्कृति र भाषासँग जीवन्त साक्षात्कार गर्न पाइन्छ ।
समुन्द्री सतहबाट १९७० मिटर उँचाइमा रहेको पहाडी बजार चरिकोट मनमोहक छ ।
एक समय चरिघ्याङमा खेतीपानीमा क्षति पुर्याउने असिनापानी रोक्न सक्ने शक्तिशाली लामा बस्दथे । लामो समय ध्यानमा तलिन भएका बेला लामाको दाह्रीमा चराले गुँड लगाएको थियो, त्यसैले यस ठाउँलाई चरिकोट भन्न थालियो । चरिघ्याङको गुम्बा अतीतमा बौद्ध अध्ययन केन्द्र थियो । गुम्बासँगै भीमसेनको पूर्णकदको छ । यस क्षेत्रको तामाङ जातिले उक्त मूर्तिको पूजा गर्छन् ।
उच्च पहाडी प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको संगम चरिकोटलाई धेरैले भारतको दार्जीलिङको प्रतिरुप ठान्दछन् ।
नगरकै अर्को गन्तव्य हो, कोटिहोम । नगरको शिरमा रहेका कालिञ्चोक भगवती मन्दिर परिसरमा १२ वर्षसम्म पानी, दुध र मिश्री मात्रै सेवन गरेर तपस्था गरी सिद्धि प्राप्त गरेका कालिञ्चोक बाबाले निर्माण गरेको कोटिमहोस्थल स्वदेश र विदेशमा विख्यात छ ।
यहाँ उनको समाधिस्थल पनि छ ।
चरिकोट र दोलखा बजारलगायत भीमेश्वर नगरपालिकाभरि नै हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुले पुरापुर्वकलादेखि आ आफ्नो चाडपर्व उत्साहका साथ मनाउने गरिआएका छन् । यहाँ वर्षभरि नै परम्बुपरागत मेला, पर्व र उत्सवहरु चलिरहन्छन् ।
मछिन्द्र रथ जात्रा, भैरवकुमारी जात्रा, सहस्रधारा जात्रा, खड्गजात्रा, चर्चित जात्राहरुमध्ये पर्दछन् । बुद्धपूर्णिमा, कृष्णाष्टमी, महाशिवरात्री, बालाचतुर्दशी, वसन्तपञ्चमी, गाईजात्रा, इन्द्रजात्रा, भीमेश्वर जात्रा, मारुनी नाच, बालन नाच आदि धूमधामका साथ मनाइन्छ ।
न जाडोमा अति जाडो न गर्मीमा अति गर्मी । यो नगरको प्रमुख विशेषता नै लोभलाग्दो हावापानी । बिहानी मिर्मिरेमा पूर्वतिर उभिएका हिमालका कापहरुबाट छिरेको सूर्यकिरणले नयाँ दिन लिएर आउँछ ।
साँझ पश्चिम क्षितिजमा सय थुम्काको मनमोहक शैलुङ डाँडा पछाडि टिलपिलाउँदै गरेकोा घाम रातलाई निम्त्याएर विदा हुन्छ । पूर्वतिर अविरल बग्ने कञ्चन तामाकोसीले जलविद्युत र जलयात्राको सम्भावना पर्खेर बसेको छ । कालिञ्चोकसम्म फैलिएको जंगलभित्र हुर्किरहेको लोपोन्मुख जंगली जनावरहरुले विशेष आकर्षण थपेका छन् । सालक कुद्दै गरेको, खरायो उफ्रिदै गरेको, मिर्ग चर्दै गरेको, चराचुरुङ्गी गुँडहरुमा पस्दै निस्कँदै गरेको दृश्यहरु देखिने दर्फे जंगलमा नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित खुल्ला प्राकृतिक चिडियाखाना बनाउने कार्य अघि बढाएको छ ।
चरिकोटमा पर्यटकलाई आकर्षित गर्ने थुपै्र स्थान छन् । स्थानीय सरकारले समेत पर्यटन लक्षित संरचनाहरु बनाएको छ ।
भ्यु टावर
चरिकोट बजारभन्दा माथि निर्माण गरिएको भ्यु टावरबाट गौरीशकर हिमश्रृङखला सहित सिगै दोलखालाई नियाल्न सकिन्छ ।
राङराङथली
सुस्पाक्षमावतीको राङराङथलीबाट विशिष्ट संस्कार, संस्कृति, भेषभूषा, भाषा, सीप र कलाकौशलले भरिएको थामी जातिको उत्पत्ति भएको हो ।
उत्पतिको रोचक र ऐतिहासिक कथाले भरिएको यही ठाउँमा थामी संग्रहालय निर्माण भइसकेको छ ।
संग्रहालयबाट नगरको वडा न ६ मा रहेको भ्यू टावर तथा निर्माणधिन विश्वशान्ति बुद्धपार्कसम्म पदमार्ग बनेको छ । विवाहको आफ्नै रीति, धातुका गरगहना, बाँसका सामग्री बनाउने सीप र मारुनी नाच थामी जातिका मौलिक विशेषता हुन् । थामी जातिको मन्त्र र गुरुआप्पाबाट उत्पन्न शक्तिलाई अलौकिक रहस्यका रुपमा हेरिन्छ ।
मौलिक पोषाकमा ढ्याङग्रोको तालमा अघिपछि गर्दै उफ्रदै मन्त्रवलमा आफ्नो शरीरमा देवता चढाउन सक्ने गुरुअप्पाका साथमा महिलाहरु नाच्दै तिलक पोखरीको ओढार पुग्ने रोचक परम्परा छ ।
दोलखा बजारका नेवार जातिको मौलिक भाषा, संस्कृति र जनजीवनले एतिहोसिक राज्य संरचनाको झलक दिन्छ । भीमेश्वर नगरभित्र छरिएर बसेका तामाङ जातिको छुटै मौलिक भाषा, कला संस्कृति ऐतिहासिक धरातल छ ।
उच्च भेगीय क्षेत्रमा चौँरी पालनमा रमाइरहेका शेर्पा जातिको रहनसहन, भेषभूषा र भाषा यस नगरको सम्पत्ति हो । साथै अन्यजातिको साँंस्कृतिक पक्षले नगरलाई समृद्ध इतिहास बोकेको स्थलको रुपमा चित्रण गर्छ ।
यहाँको स्थानीय सरकार र पर्यटन व्यवसायीले चरिकोटलाई मुख्य ट्रान्जिट बनाएर शैलुङ, कालिञ्चोक, दोलखा बजार, बिगु, जिरी, लामावगर, चेदुङ, सिँगटी, रोल्वालिङ सहितको पर्यटकीय गन्तव्य घुमाउने प्याकेज भने बनाउन सकेको छैन ।
नगरको विमानस्थल, प्याराग्लाइडिङ र तामाकोसीमा ¥याफ्टिङको सम्भावना खोजिरहेको नगरले खेलमैदान र कभर्ड हल निर्माणलाई जोड दिएको छ । आफ्नो क्षमता र सम्भावनाको अधिकतम उपयोग गर्दै भीमेश्वर नगरपालिका विकास र समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेको छ ।