चरिकोट । नेकपा एमाले दोलखाका अग्रज नेताहरुले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्नु पर्ने धारणा राखेका छन् । एमाले दोलखाको १०औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेताहरुले सर्वसम्मत नेतृत्व चयन गरेर दोलखालाई शक्तिशाली बनाउनु पर्ने धारणा राखेका हुन् ।
नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पुर्व सञ्चार मन्त्री पार्वत गुरुङले सबै नेता तथा कार्यकर्तालाई उचित व्यवस्थापन हुने गरि जिल्ला कमिटिमा सर्वसम्मत नेतृत्व चयन हुने बताए ।
‘जिल्ला नेतृत्वका लागि धेरै आकाक्षीहरु हुनुहुन्छ । उहाँहरुको योग्यता र क्षमताको आधारमा जिल्ला कमिटि, प्रदेश र विभागमा व्यवस्थापन हुनेछ,’ सांसद समेत रहेका गुरुङले भने,‘स्थानीय तहमा रहेका नेताहरुले स्थानीय तहमा नै हो नेतृत्व गर्ने । यसकारण एउटा व्यक्तिलाई धेरै दायित्व र भूमिका दिन सकिदैन ।’
एमाले दोलखालाई नयाँ मोडलबाट अगाडि लैजान गुरुङले उद्घोष समेत गरेका छन् । पाटीको नीति नियमभन्दा पनि जिल्लाकै नयाँ मोडल सहित देशकै नमुना पाटी बनाउने उनको धारणा थियो । युवाहरुलाई सहभागी बनाएर दोलखालाई शक्तिशाली पाटी बनाउने योजनामा सबै लाग्न गुरुङको निर्देशन थियो ।
पुर्व पर्यटन मन्त्री तथा एमाले पोलिटव्युरो सदस्य आन्नद पोखरेलले माथि गएका साथीहरु माथि नै उक्लिनु पर्ने बताउँदै जिल्ला कमिटिमा नझर्न आग्रह गरेका थिए ।
‘तल आउने हो भने सो नेताले पाटीको नीति र राजनीति नबुझेको प्रष्ट हुन्छ,’ पोखरेल भने,‘यसकारण तल होइन माथि जानुहोस् ।’
उनले फेसबुकमा उम्मेदवारी दिने विषयभन्दा पनि सक्षम नेतृत्व जिल्ला कमिटिमा आउने पोखरेलको भनाई थियो । राजनीतिक यात्राको क्रममा अनेक आरोह अवरोह आउने बताउँदै सबै प्रतिनिधिहरुलाई एक ढिक्का भएर एमाले जिताउने अभियानमा लाग्न अनुरोध गरेका थिए ।
उनले गाउँपालिकामा नेतृत्व लिने नेताले जिल्ला कमिटिको पदाधिकारीमा मनोनयन दर्ता नगर्न समेत ध्यानकर्षण गरेका थिए ।
अर्का पोलिट व्युरो सदस्य ईश्वरी रिजालले सबै अट्न सक्ने एक मात्र मुलधारको राजनीतिक दल एमाले भएको बताए । यसकारण कार्यकर्ता अन्योलमा नरहन उनको आग्रह थियो । समय र राजनीतिक घटना क्रममा अनपेक्षित व्यक्ति को कहाँ पुग्छ । यो आगामि दिनहरुले बताउने रिजालको भनाइ थियो ।
जिल्ला अधिवेशनको उद्घान समारोहलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य रचना खड्काले जिल्ला अधिवेशनले नयाँ सन्देश दिने बताइन । आगामि स्थानीय निर्वाचन, प्रदेश, संघीय निर्वाचनमा एमालेले जित्ने आधार जिल्ला अधिवेशनले तय गर्नु पर्ने खड्काको भनाइ थियो ।
संघीय सांसद शान्तिमाया पाख्रिनले कसैको चित्त नदुख्ने गरी मन नभाँच्चिने गरी सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने विश्वास व्यक्त गरिन् । जिल्ला अधिवेन सकिएसँगै प्रतिनिधिले गाउँ फर्किने क्रममा नयाँ उर्जा र जोस लिएर जानुपर्ने धारणा राखिन् ।
एमाले दोलखाका उपाध्यक्ष नर श्रेष्ठले दोलखा एमाले कस्तो हुनुपर्छ र नयाँ नेतृत्वले कसरी काम गर्नु पर्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
यस्तै उप सचिव तथा जिल्ला समन्वय समितिका सदस्य डबल पाण्डेले उद्घाट सत्रमा सहभागी अतिथिगण, प्रतिनिधि, पर्यवेक्षक तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
अहिले बन्दसत्र चलिरहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरिएको प्रचार प्रसार समितिले जनाएको छ । आजै मतदाताको नामवली प्रकाश हुने र भोलि नयाँ नेतृत्व चयन हुने एमाले दालखाका अध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए ।