इतिहासमा पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य को हुन् ?

.

नेकपा एमालेवृत्तमा सबैभन्दा बढी चर्चा हुने महिला नेतृमध्ये एउटा प्रमुख नाम हो, अष्टलक्ष्मी शाक्य । आजैबाट बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकी शाक्य एमाले विवादमा खरो रुपमा आफ्ना दृष्टिकोण राख्नेमध्येकी एक नेतृ हुन् ।

विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिरहने शाक्य केही दिनदेखि चुप थिइन् । प्रायः पार्टीका बैठकहरुमा उपस्थित हुने शाक्य योपटक एमाले विवाद उत्कर्षमा पुग्दा भने प्रदेश राजधानी हेटौँडामा थिइन् ।

एमाले विभाजनको औपचारिक तयारी भइरहँदा शाक्य बुधबार दिउँसोबाट एकाएक चर्चामा आइन् । हेटौँडामा बसेको एमाले संसदीय दलको बैठकले उनलाई दलको नेता चुन्यो । त्यो पनि मुख्यमन्त्री डोरमणि पौडेलकै प्रस्तावमा ।

०७४ सालमा भएको चुनावपछि लगत्तै देशभरका मुख्यमन्त्री छान्ने बेलामा पनि खुबै चर्चामा आएकी थिइन्, शाक्य । आफ्नो दाबेदारी प्रस्तुत गरेकी शाक्यले त्यतिबेला मुख्यमन्त्रीमा नियुक्ति पाइनन् । तर, एमाले विवादले नाटकीय रुप लिइरहँदा शाक्यले पनि नाटकीय रुपमा मुख्यमन्त्रीका रुपमा शपथ लिएकी छिन् ।

 पहिलो महिला मुख्यमन्त्री

नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्री हुन् । एमाले र माओवादी केन्द्रको गठबन्धन भई बनेको नेकपाले तत्कालीन अवस्थामा प्रदेश २ बाहेकका सबै प्रदेशमा बाँडफाँड गरेर मुख्यमन्त्रीको जिम्मेवारी दिलाएको थियो ।

जसमध्ये सबै प्रदेशमा पुरुष नै मुख्यमन्त्री बनेका थिए । बागमती प्रदेशमा त्यतिबेलै शाक्यको नाम आएको थियो । पार्टी केन्द्रसम्म पनि उनको नामको चर्चा थियो । मुख्यमन्त्री शाक्य माधव नेपाल समूहमा देखिएर लागेकी ‘हार्डलाइनर’ मध्येकी नेतृ थिइन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहँदा उनी मुख्यमन्त्री बन्न पाएकी थिइनन् । तर, एमाले विवाद मोडिँदै जाँदा अन्ततः मुख्यमन्त्री पौडेल आफैँले राजीनामा दिँदै आफ्नै अगुवाइमा शाक्यलाई संसदीय दलको नेता चुनेर मुख्यमन्त्री बनाए ।

को हुन् शाक्य ?

अष्टलक्ष्मी शाक्यको जन्म ०१० सालमा काठमाडौं शाक्य परिवारमा भएको थियो । उनी अनवरत रुपमा नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय महिला नेतृ हुन् । उनले नेकपा एमालेको विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् । उनले उद्योग, महिला बालबालिका तथा समाजकल्याण मन्त्रीका रुपमा काम गरिसकेकी छिन् ।

पञ्चायतविरुध्दको संघर्षमा लामो समय कार्य गर्नुका साथै भूमिगत राजनीति गरेकी शाक्यको विह सोही पार्टीका नेता तथा पूर्वमन्त्री अमृत बोहरासँग भएको हो । पार्टीमा नेतृ शाक्यलाई शालीन व्यक्तित्वका रुपमा लिने गरिएको छ । ०५६ सालमा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभाकी सदस्य समेत भइन् ।

०२८ सालमा एसएलसी पास गरेपछि उनले क्याम्पस पढ्नुको अलावा चिनियाँ भाषा पनि सिकेकी थिइन् । ०३६ सालकै पुस ४ गते उनी घर छाडेर राजनीतिमा होमिएकी थिइन् । भूमिगत भएको करिब एक–डेढ वर्षमै उनको पार्टीकै नेताहरुको सहयोगमा विवाह भएको थियो । अर्का भूमिगत नेता अमृत कुमार बोहोरा (श्याम)सँग उनको विवाह भएको हो ।

एमाले पार्टीसँगको निरन्तर यात्रामा उनी अहिले बागमती प्रदेशको मुख्यमन्त्रीसम्म बनेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार