याम्बु । तामाङ संगीतमा सेला विट र समला तालमा गीत सुन्दै आएका स्रोताका लागि ‘सेम स्हु’ ले सुनौलो आयाम थपि दिएको छ ।
तामाङ संगीतमा प्राय सेला विट सुन्दै आएका दर्शकका लागि सेम स्हुले विल्कुलै नयाँ पन र संगीतको रसस्वादन गर्ने छ ।
नयाँ पुस्ताका लोकप्रिय संगीतकार तथा गायक जोगलाल लामाले नेपाली संगीतको झप तालमा तामाङ भाषाको पहिलो गीत रेकर्ड गरेका हुन्। उनकै स्वरमा रेकर्ड भएको सो गीतमा अर्का प्रसिद्ध संगीतकार तथा गायक अमृत लामाको संगीत र पवन वाङ लामाले एरेन्ज गरेका छन् ।
कुमार बम्जनले लेखेको गीतले तामाङ संगीतमा सुनौलो यात्रा तय गरेको बुझन सकिन्छ । नेपाली संगीतको प्रारम्भिक चरणमा नारायण गोपालको समयमा झप ताल रेकर्ड भएको पाइन्छ । सम्भवत यसपछि कमै मात्रामा झप तालको गीत सुन्न पाइन्छ ।
रहरमा गायन क्षेत्रमा स्वर मिसाउनेहरुको सूची लामै भएपनि संगीत अध्ययन गरेर साधन गर्ने कलाकारहरु कमै रहेका छन् । नयाँ पुस्तामा झन न्युन रहेको छ ।
यद्यपी, संगीतको जुनसुकै विद्या र तालमा गला कला मिलाउन सक्ने कलाकारहरुको अनुसूचीमा जोगलाल लामा पर्ने गरेका छन् । उनि भन्छन,‘नेपालीमा नाराण गोपालले झप तालमा गीत संगीत गर्नु भएको पाइन्छ । यसपछि सम्भवत केही मात्रामा होला । तामाङ संगीतमा भने यो पहिलो इतिहास रचेको गीत हो ।’
उनका अनुसार झप ताल अन्य तालभन्दा सहज छैन । दश मात्राको यो गीत अफ्ठेरो नै हो । यसको लागि साधना चाहिन्छ । ‘मैले पनि प्रयास गरेको छु । तामाङ संगीतमा नयाँ कोसेढुंगा सावित हुने छ ,’लामाले संक्षिप्त कुराकानीको क्रममा भने ।