बोम्बो कृष्ण ब्लोनको ९ दिने एकल गुफा सम्पन्न

.

मान काजी तामाङ
हेटौंडा । नेपाल तामाङ बोम्बो संरक्षण समाजका केन्द्रिय सदस्य कृष्ण बहादुर ब्लोनको एकल (एक्लै) ९ दिने गुफा सम्पन्न भएको छ । मकवानपुर, बकैया गाउँपालिका ९, च्याउँच्याउँका जंगलस्थित चिहानमा बोम्बो कृष्णले ९ रात ध्यान, तपस्या सहित गुफा सम्पन्न गरेको हो ।

वैशाख ५ गतेबाट च्याउँच्याउँको चिहानमा सुरु भएको सो गुफा चैत्र पुर्णिमा (वैशाख १३) को दिन समापन भएको हो । ‘मेरो जीवनै पहिलो र ऐतिहासिक ध्यान, तपस्या र जप गर्ने गुफा भयो । चिहानमाथिको गुफा सोचेजस्तो सहज थिएन,’उनले भने,‘अदृश्य तथा दैविशक्तिसँगको संवाद र उनीहरुमाथिको जीतले मलाई नयाँ ज्ञान प्राप्त भएको छ ।’

उनका अनुसार झाँक्रिहरुको विभिन्न प्रकारका गुफाहरु हुन्छन् । यसमध्ये चिहानमाथिको गुुफा सबैभन्दा चुनौतिपूर्ण हुन्छ । एक्लै बसेको ९ दिनको गुफाले धेरै ज्ञानका कुरा सिकाएको ब्लोनले बताए ।गुफा आफैमा ध्यान जप साधन गर्ने भएकाले बोम्बोहरु एक्लै बस्दा सिद्धि प्राप्ति हुने परम्परा रहेको छ । उनले अन्न, नुन विनानै ९ रात १० दिन चिहानमा बिताएका थिए । अदृश्य शक्तिहरुको प्रत्यक्ष रुपमा अनुभव गर्न पाइयो । एक्लै बस्नु चुनौतिपूर्ण भएपनि कठिनताकोबीच सफल भएको उनले बताए ।

‘यो गुफा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञ छु ।धन्यवाद दिन चाहान्छु’ उनले भने ।

गुफा कार्यक्रमको समापन समारोहमा नेपाल तामाङ बोम्बो संरक्षण समाजका अध्यक्ष महाराज भोम्जनले एकल गुफा सामान्य बोम्बोहरुले बस्न नसक्ने भन्दै कृष्ण बोम्बो साहसको प्रंशसा गरेका थिए । ‘कृष्ण जीले नयाँ शक्ति प्राप्त गर्नु भएको छ । जो कोहीले गर्न सकिदैन,’ अध्यक्ष भोम्जनले भने,‘यो अठोट र साहस गर्नु भएकोमा तपाईलाई बधाई सहित शुभकामना छ।’

उनले फरक प्रसंगमा भने,‘अब बोम्बोहरु शिक्षित हुनुपर्छ । प्रविधिमैत्री हुनुपर्छ । तर, विरामीलाई उल्टो पैसा ठग्ने काम बन्द गर्नु पर्छ । विरामीको स्वइच्छाले दिएको दान लिन भने अफ्ठेरो मान्नु पर्दैन ।’

बोम्बोभित्र पनि केही विकृति विसंगति रहेकाले यसको शुद्धिकरण र प्रवद्र्धन हुन आवश्यक रहेको भोम्जनको भनाई थियो । ज्ञानको घमण्ड नगरौं हामी सबै बोम्बो एक हुनुपर्छ । मौलिकता र बोम्बो संस्कृति जोगाउनु सचेत बोम्बोको पहिलो कर्तव्य रहेको भोम्जनको जोड थियो ।
कार्यक्रमका प्रमुख अतिथि बकैया गाउँपालिका ९ का वडाअध्यक्ष टकध्वज लोप्चनले लोप भएको बोम्बो गुफा संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताए ।

आफुले पहिलो पटक बोम्बो गुफा देखेको भन्दै यसको इतिहास र मौलिकता जोगाउन बोम्बोहरु जागरुक हुनुपर्ने लोप्चनको भनाई थियो । बोम्बो संस्कृति जोगाउन आफुले सकेको सहयोग गर्ने समेत वडा अध्यक्ष लोप्चनको प्रतिबद्धता थियो ।

स्थानीय युवा सुर्य ब्लोनले सञ्चालन गरेको समापन समारोहमा स्थानीय बुद्धिजिवि, टोल सुधार समितिका अध्यक्ष, ताम्बा, बोम्बो, शिक्षकहरुको समेत बोक्लो उपस्थिति रहेको थियो ।

यस्तै, समापन समारोहमा तामाङ बोम्बो संरक्षण समाजका महासचिव विष्णु बहादुर ब्लोन(सिन्धुपाल्चोक), कोषाध्यक्ष राजु तामाङ(फाखेल, मकवानपुर), केन्द्रिय सदस्य मकल पाख्रिन(दोलखा), किपा सोनाम वाइबा(रसुवा), विवेक भोम्जन(काभ्र्रेपलाञ्चोक) लगाएतको सहभागीता रहेको थियो ।

सो दिन कालेश्वरको मेला समेत भव्य रुपमा भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार