
विरबहादुर तामाङ
काठमाडौं । लाङटाङ क्षेत्रको शिक्षा, स्वास्थ्य, असहायका लागि आर्थिक सहयोग गर्दै आएकी कार्टोक लामाले सुविधा सम्पन्न अस्पताल बनाउन चाहेको बताएकी छिन् । टुरिजम अनलाईन टिभिसँग कुराकानी गर्दै उनले हिमालय क्षेत्र लाङटाङमा आधुनिक हस्पिटल बनाउन चाहेको बताएकी हुन् ।
उनले लामो समयदेखि लाङटाङमा कार्टोक हार्ड रक क्याफे सञ्चालन गर्दै आएकी छिन् । लामाले सामाजिक कार्य गर्नका लागि कार्टोक फाउन्डेशन दर्ता गरेको बताइन ।
‘सामाजिक सेवा नै ठूलो सम्पती हो । मेरो हातको हत्केला छैन । जे होस् समाज सेवामा एकदमै रमाउँछु,’ उनले भनिन्,‘लाङटाङ क्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, जनचेतनामुलक काम गर्ने अठोट लिएको छु । यसमा मलाई मनकारीहरुको साथ चाहिएको छ ।’
उनले यस अभियानको लागि स्थानीय निकाय, सामाजिक सेवी स्वदेशी तथा विदेशी साथीहरुलाई अनुरोध समेत गरेकी छिन् ।
उनले पहिलो चरणमा कार्टोक फाउन्डेशनकोे टि सर्टबाट केही शुल्क उठाएर पैसा संकलन गर्ने बताइन ।