बौद्ध नगर विकास समितिको साधरण सभा सम्पन्नः सडक, बत्ति र पार्कमा विशेष जोड

.

विरबहादुर तामाङ
काठमाडौं । बौद्ध नगर विकास समितिको तेस्रो साधरण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बौद्धमा एक कार्यक्रम आयोजना गरी साधरण सभा गरिएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर समिति स्थापना गर्ने क्रममा सहयोग गरेका ११ जनालाई दोसल्लाह सहित सम्मान गरिएको थियो ।

बौद्ध नगर विकास समितिका अध्यक्ष तेजमान लामाले यस क्षेत्रको विकास निर्माण, सडक ढल, विद्युत प्रवाह र विकासको विषयमा प्रष्ट तथ्यगत धारणा राखेका थिए । स्थानीय निकायका रुपमा रहेको वडा कार्यालय तथा जनप्रतिनिधिले सहयोग नगरेपनि क्षेत्र विकास समिति लगाएतको संघ संस्थासँग समन्वय गरेर सामाजिक कार्य भइरहेको बताए ।

‘अहिले बौद्धनाथ क्षेत्र विकास समितिसँगको समन्वयमा दोस्रो प्रवेशद्धार निर्माण कार्य सुरु भएको छ । यसमा वडाको एक रुपैया पनि परेको छैन,’ अध्यक्ष लामाले भने,‘हामीले वडा अध्यक्ष तथा कार्यालयमा सहकार्यका लागि पहल नगरेको होइन । धेरै विषय वस्तुमा समन्व्य गर्न प्रस्ताव गरिएको तर हाम्रो प्रस्तावको कुनैै सुनुवाई भएन ।’

यस क्षेत्रको विकास, शान्ति सुव्यवस्था, ट्रक तथा टिपरको रात्री डिस्टप, ग्रिल कारखाना लगाएतको विषयमा गम्भीरताको साथ समितिले काम गरिरहेको लामाले बताए । उनका अनुसार अहिलेको फुटबल ग्राउण्डमा आधुनिक पार्क निर्माणसँगै यस क्षेत्र मुलुककै नमुना नगर बन्ने छ ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले नगरको सामाजिक तथा विकासका लागि हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए । उनले यहाँ निर्माण हुँदै गरेका पार्क, सडक, ढल व्यवस्थापनको काम नगर विकास समितिलाई जिम्मेवारी दिएको समेत बताए ।

कार्यक्रममा कोषाध्यक्ष मोहन लामाले वार्षिक आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाको बैंक खातामा ५० हजार १३८ रुपैँया रहेको छ । यस्तै नगर विकास समितिका सचिव जेआर थापाले वार्षिक गतिविधिको प्रतिवेदन सहित आगामि योजनाको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समितिका सह सचिव रोजि श्रेष्ठ पाख्रिनले स्वागत मन्तव्य रोखेकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार