असोज २ गते तिमाल राज्य हमला भएको दिन

षड्यन्त्रपूर्वक मारिए राजा रेन्जिन

.

१८१९, असोज २ गते पृथ्वी नारायण शाहका सेनाले गोर्खा राज्य विस्तारको क्रममा तिमाल राज्यमाथी हमला गरेको दिन । सोही सिलसिलामा तामाङ राजा रेन्जिन दोर्जेलाई मारिएको थियो । सोही दिनको घटनामाथी लेखक तथा अनुसन्धानकर्ता रवीन्द्र तामाङले तिमाल भूमी र रेन्जन दोर्जेमा समर्पण गरि तयार गर्नु भएको खोजमूलक लेख याम्बु टाइम्सका लागि पोष्ट गरिएको छ ।

  • रवीन्द्र तामाङ

तिमालको भूगोल:

तिमाल काठमाडौं उपत्यकाको पूर्वतर्फ रहेको काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगमा पर्दछ । यसको प्राचीन भूगोल के कस्तो रहेको थियो भन्ने विषय अनुसन्धान कै छ । तर, तिमालका तामाङहरुका अनुसार हाल काभ्रेपलाञ्चोक जिल्लाको झिगु, रोशी खोला र सुनकोशीको बीच भागबाट उठेको बेशी र डाँडा–पाखाहरु नै हुन् । जसले काभ्रेपलाञ्चोक, रामेछाम र सिन्धुली जिल्लासम्मको भू–भागलाई छोएको छ ।

वि.सं. १९१० को बि.एच. हड्सनको हस्तलिखित ग्रन्थमा भने साँगादेखि पूर्व, तामाकोशी पश्चिम, दोलखादेखि दक्षिण र मूर्तिढुङ्गादेखि उत्तरको भू–भागलाई तिमाल भनिएको छ । तर, हालको प्रशासनिक विभाजनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको मेथुनकोट, कानपुर–कालीपानी, सस्यूखर्क, समरथली, पोखरी नारायण, कुरुवास–चापाखोरी, पर्सेल, कटुञ्जेबेसी, बोल्देफेदिचे, मेच्छे–भोटेपानी लगायत भू–भागहरु पर्दछन् । जसमा तिमाल बेसी, कोट तिमाल थुम र बाह्र तिमाल थुमका भू–भागहरु रहेका छन् । साथै लिच्छवीकालमा तिमाल भेगलाई तेरमाला र यारिनाग समेत भनिन्थ्यो ।

तिमालको ऐतिहासिकता :

प्राचीनकालमा तिमाल क्षेत्रमा मानव जाति आवाद रहेका थिए वा थिएन भन्ने यकिन प्रमाण छैन । तर, अंशुवर्माको पालाको एक अभिलेख तिमालको अन्तिम सिमानास्थित सुनकोशी र रोशी खोलाको दोभानमा रहेको कुशेश्वर महादेवको मन्दिर नजिकै प्राप्त भएको थियो । जसले तिमाल लिच्छविकालमा नै आवाद भएको भन्ने बुझिन्छ । काठमाडौ र मिथिला राज्यबीचको सम्पर्क गर्दा आवतजावत गर्ने मार्ग तिनताका तिमाल डाँडैडाँडा, सिन्धुलीगढी भएर जनकपुरसम्म पुग्ने नै थियो ।

यसरी हेर्दा प्राचीन, लिच्छवि र मल्लकालसम्म पनि तिमाल नेपाल उपत्यकाको पूर्वी दक्षिणी मैदान (मधेस)सँग सम्पर्क राख्ने महत्वपूर्ण द्वारको रुपमा रहेको थियो । जुन परम्परा उपत्यकाबाट त्रि–भूवन राजपथ नखुलेसम्म कायम नै रहेको थियो । यसले तिमालको आर्थिक (व्यापारिक), धार्मिक, सांस्कृतिक, भौगोलिक र सामरिक महत्व रहेको थियो भन्न सकिन्छ ।

मध्यकालीन नेपाल विभिन्न स–साना राज्यहरुमा विभाजित थियो । यसै क्रममा नेपाल उपत्यकाको दक्षिण पूर्वतर्फ तिमाल नामक भोटे तामाङहरुको राज्य शक्तिशाली रहेको थियो । प्राचीनकालदेखि नै मधेसबाट उपत्यका छिर्ने दक्षिण–पूर्वी द्वार भएकाले तिमाल राज्यलाई आफ्नो अधीनस्त राख्न ललितपुर, भक्तपुर र मकवानपुर राज्यहरुमा होड लागिरहन्थ्यो । त्यसैले तिमाल कहिले भक्तपुर (खोपृङ), कहिले ललितपुर (हेराङ) त, कहिले मकवानपुर (मोक्कवान) राज्यको अधीनमा पर्दथ्यो । जुनसुकै राज्यको अधीनस्त भए पनि तिमालमा भोटे तामाङहरुको नै स्वशासन चल्दथ्यो ।

गोर्खा राज्यको विस्तार पृथ्वीनारायण शाहले गर्नु ठिक अघि भने तिमाल मकवानपुर राज्यको अधीनमा रहेको कुरा प्राप्त एक ताम्रपत्रबाट पुष्टि हुन्छ । उल्लेखित ताम्रपत्रअनुसार मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेनले वि.सं. १८१९ भदौ ९ मा आफू जेठान पृथ्वीनारायण शाहद्वारा पराजित भई भागेर हरिहरपुर गढी पुगेपछि तिमालका तत्कालीन आफ्ना सामन्त शासक रिन्जेन मिझारलाई दिएको बुुझिन्छ ।

उक्त ताम्रपत्रको विश्लेषणबाट सम्भवत दिगबन्धन सेनले गोर्खा राज्यबाट पुनः आफ्नो राज्य युद्ध गरी प्राप्त गर्ने क्रम दिल्लीका मुस्तिम नवाव मीर कासिमसँग पनि सैन्य सहयोग मागेका थिए । यसै क्रममा गुगीन खाँको नेतृत्वमा आएका २०० फौजलाई पृथ्वीनारायण शाहले हराएका थिए । यसपछि भने दिगबन्धन सेनले हरिहरपुर गढीमा आत्म समर्पण गर्नुअघि उल्लिखित ताम्रपत्र सामरिक शक्ति भएका आफ्ना अधिनस्त सामन्त शासक भोटे तामाङ शासक रेन्जिनलाई खुसी पारी पृथ्वीनारायणसँग युद्ध गर्ने अभिलाषा बमोजिम प्रदान गरेका थिए जस्तो लाग्दछ ।

स्वतन्त्र तिमाल राज्य:

तर, एकातिर पृथ्वीनारायण शाहका सेनाले मीर कासिमलाई हराएपछि दिग्बन्धन सेनको सो योजना एकातिर बिफल भएको थियो भने अर्कोतिर तिमालका राजा रेन्जिनले पनि आफूलाई राजा र आफ्नो राज्यलाई स्वतन्त्रता धोषित गरे । यसपछि भने दिगबन्धन सेनको सपना विफल भएको थियो । रेन्जिनले सामन्त शासन चलाए कै बखत आफ्नो सम्पूर्ण राज्यको क्षेत्र अवलोकन गर्न सकिने गरी कुरुवास चापाखोरीको गोल्मु डाँडामा राजधानी बनाएर दरबार बनाएका थिए भने यसै दरबारको उत्तरतर्फ चापाखोरीको चउरलाई सैन्य तालिम केन्द्र निर्माण गरेका थिए । जहाँ अझै पनि ठूला ईनारहरुको अवशेष देख्न सकिन्छ ।

आफ्ना हातहतियारहरु राख्न कानपुर कालापानी तिमालमा कोट समेत स्थापना गर्न दरबार निर्माण गरेका थिए । त्यसैगरी तिमाल बेसीमा खेती गर्न राजकुलो (झिगु खोलाबाट) समेत निर्माण गरेका थिए । यी सबै सम्पदाका अवशेषहरु आजसम्म पनि देख्न सकिन्छ ।

तिमालमाथि गिद्धे दृष्टि:

नेपाल उपत्यकामाथि विजय प्राप्त गर्न उपत्यका वरिपरिका स–साना राज्यहरु कब्जा गर्नैपर्ने साथै दक्षिणतर्फबाट व्यापार हुने तिमाल भोटे तामाङ राज्य कब्जा नगरी नहुने भएको थियो । जसका लागि बुढा सरदार रामकृष्ण कुँवर वि.सं. १८२६ मा पलाञ्चोक कब्जा गरी बसेका थिए । त्यसो त पृथ्वीनारायण शाहले उनीमाथि पूर्वी विजय अभियान गर्ने जिम्मा समेत सुम्पेका थिए ।

यसैले व्यापारिक, पूर्वी नाका र उर्वर भूमि रहेको तिमालमाथि युद्ध गर्ने बहानामा सरदार रामकृष्ण कुँवरले किचलो बेलाबखत झिक्न थाले । उनी झिगु खोलापारिका खेत (तिमाल बेसी) पलाञ्चोक राज्यको हो भन्ने गर्दथे । तिमालका राजा रेन्जिन हाम्रो हो भन्ने गर्दथे । जसका कारण पलाञ्चोकका गोर्खाली सेनाको टुकडी र तिमालका सैन्य दास्ता बीच पटकपटक स–साना युद्ध भैरहन्थे । तर, पलाञ्चोके गोर्खा सेनाको विजय हुँदैन्थ्यो । त्यसैले पृथ्वीनारायण शाहले धनै दिएर भए पनि तिमालका भोटे राजा अर्थात् मकवानी मिझारहरुलाई मिलाउनु भनी चिट्ठी लेखेका थिए ।

मकवानपुर दखल गर्ने बित्तिकै पलाञ्चोकमा रहेका गोर्खाली सेनाले काजी दलजीत शाहको नेतृत्वमा रहेका सैन्य दलले तिमाल कोटमा पहिले पनि आक्रमण गरेका थिए । तर सो आक्रमण सफल भएन । यस युद्धमा १५० जति मकवानी सेना हताहत भएका थिए ।

पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तारको क्रममा युद्ध छेड्नु अघि ज्योतिष हेर्ने र साइत तोकिएको तिथिमा आक्रमण गर्ने गर्दथे । आक्रमण गर्ने दिनको अघिल्लो रात उनले जे जसरी भए पनि देवीको मौलो आक्रमण गर्ने राज्यमा गाड्ने प्रचलन रहेको थियो । यसै क्रममा गोर्खालीहरुले रुप नारायण, कुलानन्द र श्यामल उपाध्याय कोइरालालाई मौलो गाड्न लगाएका थिए ।

वि.सं. १८१९ असोज २ गते सरदार रुद्र शाही, सरदार चौतारिया दलजीत शाह, कपरदार भद्र शाही, सरदार बूढा रामकृष्ण कुँवर, काजी वंशराज पाण्डे, काजी हक्र्या पन्त, वीर भद्र थापा, काजी जीजवशाह लगायत गोर्खाली सेनाका एक से एक सेनानायकहरु लागेर आक्रमण गरेका थिए ।

तर पनि तिमाल राज्यमा कब्जा जमाउन सकेनन् । बरु उल्टै सरदार रामकृष्ण कुँवरका एक भाई अमर सिंह कुवर का साथै ३०० गोर्खाली सेनाहरुले वीरगति प्राप्त गरेका थिए । गोर्खाली र तिमाल बीचको युद्धको प्रमाण स्वरुप आजसम्म पनि कोट तिमाल, तिमाल र तिमाल कै अक्करको भीर–पहरा लगायतका प्वाँलहरु देख्न सकिन्छ । जसको वर्णन भाषा वंशावलीमा यस प्रकार गरिएको छ ।

उपत्यकामाथि राज गर्ने पृथ्वीनारायण शाहको सपना तिमाल युद्धले पानी फिरेकोले उनले जसरी भए पनि तिमालमाथि कब्जासमेत जमाउन स्थानीय काजीहरुलाई समेत निर्देशन दिएका थिए । यसका लागि पृथ्वीनारायण शाहले लक्षिमन थापालाई विशेष पत्र लेखेका थिए ।

पत्रमा लक्षिमन थापाले वीरे धामी नामक व्यक्तिलाई नेल काटेर भगाएको, वीरे पारि अर्थात् तिमाल क्षेत्रमा गई भोटे तामाङहरुलाई उक्साएको र उनीहरु पनि आवश्यक परे युद्ध लड्न तयारी रहेको बुझिन्छ । साथै, पत्रबाट तिमाल युद्ध गर्दा आफूले सहयोग गर्ने खबर पठाएकोले पृथ्वीनारायण शाहले पनि तिमालका भोटे तामाङहरुलार्य सम्झाई बुझाई गर्दै गर्न आदेश दिएको देखिन्छ ।

यसै क्रममा काजी रामकृष्ण कुवँरले काजी लक्ष्मण थापा, काजी कमल खस लगायतलाई समेत प्रयोग गरेर तिमालका भोटे तामाङ राजा रेन्जिनलाई मितेरी÷मैत्री सन्धि गर्ने निहुँमा सुनकोशी र झिगु खोलाको दोभान तिमाल बेसीमा बिना हातहतियार बोलाएका थिए । आफूहरुले भने किनारमा बालुवामा पहिले नै हातहतियार लुकाएर राखी राखेका थिए । भोलिपल्ट दुबै पक्षबीच कुराकानी गर्दा केही गरे पनि रेन्जिनले गोर्खा राज्यको अधीनमा रहनु स्वीकार नगरेपछि बगरमा लुकाइको हतियार झिकेर झुक्याई छलकपट गरी रेन्जिन लगायत उनका पाँच छोरामध्ये चार छोराको (सुरुङथोक, बुमीशेरे, छप्पन छोइकु र चनिका ) हत्या गरेका थिए । युद्धमा बाँचेका उनको कान्छो छोरा झ्याम्याङ लामा अर्थात भिक्षु बनेर तिब्बत भोट पलायन भएका थिए ।

रेन्जिनको वीभत्स हत्या भएको र उनको टाउको काटेर गोर्खालीहरुले सुनकोशीमा फालेको खबर रेन्जिनकी श्रीमतीले खबर पाइन् । त्यसपछि तिमालबाट आफ्ना श्रीमान्को टाउको खोज्दै सुनकोशीको तिरैतिर हिँडेपछि ठूलो पर्सेलदेखि तल कोशी धुमेको ठाउँमा फेला परेको थियो । सोही स्थानमा रेन्जिनको श्रीमती धर्मरानी हामफाल हालेर र आत्महत्या गरेको बताइन्छ । जसलाई आज पनि रानीदह भनेर भनिन्छ ।

यी माथिका घटना विवरणबाट गोर्खाका राजा पृथ्वीनारायण शाहले तिमालमाथि निकै कठिनाई साथ अधिकार जमाएका थिए । जसले मध्यकालमा तिमाल स्वतन्त्र राज्यजस्तै थियो । जहाँ भोटे तामाङ राजाहरुको स्वशासन चल्दथ्यो, तर यर्थाथमा भने उनीहरु स्थानीय शक्तिशाली सामन्त शासक थिए भन्ने पुष्टि हुन्छ ।

तिमालमा हिन्दूकरण 

तिमालमाथि अधिकार जमाइसकेपछि तिमाल युद्धमा रामकृष्ण कुँवरको भाइ समेत मरेका कारण वि.सं. १८२९ आश्विन बदी ५ मा एक लालमोहर प्रदान गरी उनका सन्तानदरसन्तानलाई खान पलाञ्चोक बिर्ता दिएका थिए ।

त्यसैगरी तिमाल युद्ध गर्दा ज्योतिष हेर्ने जैसी र मौला गाड्ने पुरोहितहरु क्रमशः रुपनारायण, कुलानन्द र श्यामलाल उपाध्याय कोइरालालाई समेत कोट तिमाल, कल्यारी र दाप्चाबेसीमा जग्गाहरु बिर्ता दिएका थिए । विभिन्न रुक्का पत्रको व्यहोराले स्पष्ट पार्दछ ।

विद्रोहका आवाज:

गोर्खाली सेनाले तिमाल विजय गरेपछि पनौती र तिमालका तामाङहरुले पटकपटक विद्रोह गरेका थिए । त्यसैले उनीहरुलाई थामथुम पार्न पृथ्वीनारायण शाहले रेन्जिनका सन्तानहरुलाई शाही उपाधि समेत दिएका कुरा उनका छोरा नातिहरुका नामको पछाडी शाही लेखिएको वंशावलीहरुमा पाइन्छ । जसमा रत्न शाही, दोम्बा शाही, भन शाही आदिआदि रहेका छन् ।

तिमाल राज्य र रेन्जिनको सम्झना 

अन्तमा, तिमाल राज्यमा भोटे तामाङहरुको अन्तिम राजा रेन्जिनको कथा र उनका गाथहरु समेटिएका गेदोङ–दोमाङ र काज्र्या नाम्ज्या नामक पुस्तकहरु मात्र होइन, उनको दरबार र कोटहरुका अवशेषहरु, सैनिकहरुदले परेड खेल्ने टुँडीखेल, स्मृतिमा बनाइएका माने÷स्तूपहरु, सम्भोटा लिपिमा लेखिएको ऐतिहासिक वंशावली जस्ता प्रमाणहरु जो कोहीले देख्न, पढन र सुन्न सक्दछन् ।

यसका साथै तिमालका तामाङ जनताहरुले आफ्ना राजा रेन्जिन दोर्जेको आत्माको चिरशान्तिका लागि वि.सं. १८१९ चैत्रको चैत्र पूर्णिमाको श्रद्धाञ्जली स्वरुप अघिल्लो दिन बौद्ध स्तूप र पूर्णिमाको दिन स्वयम्भूमा दीप प्रज्वलित गरेका थिए । तिमालीहरुको सहभागिताको कारण चैत्र पूर्णिमाको दिन बत्ती बाल्ने जात्राको नाम बदलिएर तिमाल जात्रा हुन गएको थियो । हरेक वर्षको चैत्र पूर्णिमामा मनाइने सो बत्ती बाल्ने जात्रा आज पनि तिमाल जात्राको रुपमा जीवन्त रही रहेको छ ।

  •  लेखक , तामाङका तामाङ इतिहास, संस्कृति र लोक साहित्य सम्बन्धी एक दर्जन पुस्तक प्रकाशित छन् । साथै लेखक रक्षा मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ । नोटःअनुसन्धान मूलक लेख कपि पेष्ट गर्न पाइने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार